वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकी तोडफोड, केही प्रहरी घाइते
काठमाडौं,२१ जेठ।
कुम मुसिकोट नगरपालिका वडा १३ का वडाध्यक्ष दीपक केसी नेतृत्वको एक समूहले वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड गरेको छ।
गएराति नगरपालिकाको १३ नम्बर वडाका वडा अध्यक्ष दीपक केसी नेतृत्वको समूहले अस्थायी प्रहरी चौकी छिवाङ ज्युलामामा तोडफोड गरेको हो।
वडा अध्यक्षको समूहको आक्रमणबाट प्रहरीको इन्ट्री पोष्ट, चौकीमा रहेका कुर्सि र गाडी रोक्न बनाइएका सामान समेत तोडफोड गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीलेबताए।
उक्त क्रममा उनीहरुले कार्यालयमा तोडफोड गरी अस्तव्यस्त बनाएका छन् । उक्त समयमा पोष्टमा सात जना प्रहरी रहेका थिए ।
केही प्रहरी घाइते भएको समेत बताइएको छ ।
प्रहरी चौकीमा तोडफोड गर्न अध्यक्ष केसीसहित २०/२५ जनाको समूह आएको बताइएको छ। डीएसपी केसीका अनुसार आक्रमणमा संलग्न वडाध्यक्षसहित सबैको खोजी भइरहेको छ।
मदिरा सेवन गरी मोटरसाइकलमा बिना हेल्मेट आएका वडाध्यक्ष केसीलाई प्रहरीले सम्झाउन खोजेपछि विवाद भएको थियो। केसीले शुरूमै ड्युटीमा बसेका प्रहरीलाई लात्तीले हिर्काएको प्रहरीले बताएको छ।
त्यसपछि चौकीमा ढुंगामुडा गर्न शुरू गरेका थिए। प्रहरीले अनुसार केसीले प्रहरी चौकी इञ्चार्जको पेस्तोल समेत खोस्ने प्रयास गरेको बताएको छ।
प्रहरी सहायक निरीक्षक धनबहादुर साउद नेतृत्वमा त्यहाँ ६ जना प्रहरी कार्यरत छन्। चौकीका अधिकांश सामग्रीमा क्षति पुगेको प्रहरीले बताएको छ।
“उहाँहरू ९वडाध्यक्षको टोली० मदिरा सेवन गरेर आउनुभएको थियो। त्यसक्रममा पुलिसले सम्झाउन खोज्दा तोडफोडमा उत्रिनुभयो”, डीएसपी केसीले भने, “थप टोली पुगेर नियन्त्रणमा लिन खोज्दा उहाँहरू ढुंगामुडा गर्दै भाग्नुभयो। अहिले खोजीका लागि टोली परिचालन भएको छ।”
यसअघि पनि विभिन्न घटनामा मुछिएका वडाध्यक्ष केसीलाई प्रहरीले सम्झाई(बुझाई गरेर पठाउने गरेको थियो। केही समय पहिले जिल्लाबाट गएको प्रहरीको ड्युटी टोलीका प्रमुखमाथि पनि उनले आक्रमण गरेका थिए।
केसी गएको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्।



















