नेपालमा वार्षिक ६ अर्वको काष्ठजन्य सामाग्री आयात,वैज्ञानिक वन व्यवस्थापन आवश्यक

नेपालमा वार्षिक ६ अर्वको काष्ठजन्य सामाग्री आयात,वैज्ञानिक वन व्यवस्थापन आवश्यक

धु्रवराज खनाल , कार्तिक २५ गते । खाद्यान्न जस्तै काष्ठजन्य सामाग्री पनि नेपालमा अर्वौको भित्रने गरेको छ । नेपालमा विदेशबाट करिव ६ अर्ब भन्दा वढिको काष्ठजन्य सामाग्री आयात हुदै आएको तथ्यांक छ । यहाँका सामुदायिक वनहरुको उचित व्यवस्थापन हुन नसक्दा विदेशीबाट आयात गर्नु पर्ने अवस्था रहेको सरोकारवाला वताउँछन् । वनको अवस्था सुधार गर्न सके काठको आयात घट्नुका साथै राज्यलाई अर्वौको राजस्व संकलन हुने दावी छ ।
नेपालमा वार्षिक ६ अर्वको काष्ठजन्य सामाग्री आयात हुदै आएको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत विष्णु वहादुर केसीले वताए । उनका अनुसार सो रकम बराबरको काठ र काष्ठजन्य सामाग्री आयात हुने गरेको छ । वनको व्यवस्थापन हुन सके १५ अर्व भन्दा वढि राजस्व संकलन हुने केसीको दावी छ । वनको सही सदुपयोग हुन नसक्दा अर्वौको काष्ठजन्य सामाग्री आयात हुन्छ केसीले भने – वैज्ञानिक वन व्यवस्थापन गर्दा राज्यलाई १५ अर्व भन्दा वढि वार्षिक राजस्व संकलन हुनेछ । नेपालको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत भुभाग जंगलले ओगटेको छ ।
आयात घटाउँदै पर्यावरणको संरक्षण,आर्थिक तथा सामाजिक विकास गर्न चितवनको १७ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यस्थापन कार्यक्रम लागू गरिएको छ । आर्थिक वर्ष २०७२,७३ देखी सुरु भएको कार्यक्रम प्रभावकारी देखिएको छ । पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिका भित्रका १७ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको हो । कार्यक्रम लागू पश्चात ति वनहरुमा वन व्यवस्थापन हुनुका साथै उत्पादन समेत वढेको सहायक वन अधिकृत केसीले वताए । केसीका अनुसार गत वर्ष १७ वटा वनबाट ७१ हजार ८५७ क्वीफिट काठ तथा २२० चट्टा दाउरा उत्पादन भएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा वनलाई ८ क्षेत्रमा व्लकिङ गर्ने,अग्निरेखा वनाउने,रुख नक्सांकन गर्ने,माउ रुख एकिन गर्ने,वुढा तथा पुराना रुखहरु संकलन गर्ने,बुढा रुख कटान गरेका ठाउँमा नयाँ विरुवा लगाउने गरिन्छ । यसबाट वनको दिगो व्यवस्थापन हुनुका साथै,उत्पादकत्व अभिवृद्धी हुने,स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने,आयात प्रतिस्थापन हुने,रोजगारी वृद्धी हुने,काठ दाउराको सहज उपलव्धता हुने सहायक वन अधिकृत समेत रहेका खैरहनी सव डिभिजन कार्यालय प्रमुख केसीले वताए । चितवनमा ६५.८५ प्रतिशत वन क्षेत्र छ । जस मध्ये डिभिजन वन कार्यालय अन्र्तगत ३९ प्रतिशत अर्थात ५७ हजार ६५० हेक्टर रहेको छ । जिल्ला वन अन्र्तगत ९१ वटा सामुदायिक वन रहेका छन् । जसबाट ४३ हजार ८१५ घरधुरी लाभान्वित छन् ।