दुर्घटनामा ८ महिने बालक सहित आठ जनाको मृत्यु, १३ जना घाइते
सुनसरी, सर्लाही ,१९ माघ ।
मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीको इनरुवास्थित सखुवागाछिमा माइक्रो बस र रात्री बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
बाग्लुङबाट झापा जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र मोरङबाट आउँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आज बिहान ठोक्किएका हुन् ।
दुर्घटनामा माइक्रो चालक र दुई जना यात्रुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यता सर्लाहीको गोडैता र परवानीपुरमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका मोहन चोकमा हिजो राती नम्बर पहिचान नभएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट मलंगवा नगरपालिका–२ का उपेन्द्र सोनार र राजेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै लालबन्दी नगरपालिका– १६, परवानीपुर भोर्लेनीमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया जोककुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता चितवनमा गएराति नै भएका दुईवटा छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर ३ तरकारी चोकनजिक बा ४ ख ९५०९ नम्बरको बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
सोही दुर्घटनाले सवारी जाम भएको बेला ट्रकको पछाडी बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना ७ ख ३२४८ नम्बरको बसले पूर्वबाट आउँदै गरेको ना ६ ख १५०६ नम्बरको ट्रकको पछाडी ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा महोत्तरी जिल्ला मनोरसाका ८ महिने बालक सत्यम मण्डलको मृत्यु भएको छ । नौ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनालगत्तै बसका चालक फरार रहेका छन् ।