६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग, एक जना पक्राउ

काठमाडौं,१९ माघ ।

भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरणमा संलग्न एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अपहरण भएको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

थापाले फिरौतीवापतको रकम ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए ।

आइतबार दिउँसो मोटरसाइकलमा राखेर राउतलाई लगिएको सूचना प्राप्त भएलगत्तै खोजीमा प्रहरी परिचालित भएको थियो ।उनलाई घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखिएको प्रहरीले जनाएको छ । तर, बालिका रोइकराइ गर्न थालेपछि घुम्न आउने मानिसले आवाज सुन्ने डरले थापा बालिकालाई छाडेर भागेको बताइएको छ ।

जंगलमा रोएको देखेर घुम्न आउने मानिसले सोधपुछ गर्दा उनले स्कुलको नाम बताएपछि सर्वसाधारणले उनलाई स्कुलसम्म छाडिदिएका थिए ।