फुटबलका पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौं,२९ वैशाख ।
राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रञ्जित श्रेष्ठले आफूमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको बताएका छन्। श्रेष्ठले फेसबुकमार्फत आफूलाई कोराना पेजेटिभ देखिएको जानकारी दिएका हुन् ।
हाल वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका उनले आफूलाई कोरोना पोजेटिभ देखिएको पाँच दिन भएको भिडियोमार्फत बताएका छन् । उनले कहिले–कहीँ खोकी लागे पनि अवस्था सामान्य रहेको बताएका छन् ।
उनले सेल्फ आइसोलेसनमा बसेर तातो पनि पिइरहेको र त्यस्तो आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । “म सेल्फ आइसोलेसनमा छु र मलाई कोरोना पोजेटिभ देखिएको चार–पाँच दिन भयो । तर, आत्तिनुपर्ने अवस्था छैन,” उनले भिडियोमा भनेका छन्, “कहिले–काहीं खोकी लाग्छ । म रुममा बसेको छु । खाना खान्छु । जगिङ गर्दै बसेको छु ।”
उनले आफ्ना फेसबुकमा भएका साथीहरू र परिवारलाई नडराउन आग्रह गरेका छन् । उनले आफ्नो दोस्रो रिपोर्ट आउँन बाँकी रहेकाले त्यसबारे पुनः जानकारी दिने बताएका छन् ।



















