कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल, चिकित्सक, नर्ससहित ३८ जना क्वारेन्टाइनमा
काठमाडौं,१ जेठ ।
कपिलवस्तुबाट ६ दिन अगाडि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्रिवि शिक्षण अस्पतालमा उक्त बिरामीमा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ।बालिकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
त्यहाँ उपचाररत बालिकामा एक्कासी कोरोना संक्रमण देखिएपछि उनको उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
ती बालिकालाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा उपचाररत उनलाई बिहीवार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
त्यससँगै न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।
उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना संक्रमण देखिएसँगै टिचीङमा थप त्रास थपिएको छ । अति संवेदनशील बाहेकका बिरामीहरुलाई आफन्तहरुले घर फर्काउन थालेका छन् ।




















