सप्तरीका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आयो
जनकपुरधाम,२ जेठ
कोरोना भाइरस संक्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पीसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
कोभिड(१९ पुष्टि भएका डाकनेश्वरी नगरपालिका(३ का १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका आमा, हजुरबुबा र हजुरआमा तथा चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
यसैगरी, डाकनेश्वरी नगरपालिका(५ पातोस्थित क्वारेन्टाइनमा संक्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको उनले बताए।
निमित्त प्रमुख यादवका अनुसार मंगलवार उनीहरुको स्वाब संकलनपछि परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको छ। स्वाबको रिपोर्ट नेगेटिभ आए पनि संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका उनीहरुलाई अझ एक साता क्वारेन्टाइनमै राखिने जनाइएको छ। लकडाउनका बेला चितवनबाट वैशाख ८ गते मध्यराति निक्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्र्याक्टर र पैदल हुँदै वैशाख ९ गते सप्तरी पुगेका थिए।



















