संघीय संसदमा लिपुलेक र लिम्पियाधुरा भएको नयाँ नक्सा सहितको लोगो प्रतिस्थापन
काठमाडौं,१३ जेठ
संघीय संसदमा लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सहितको नयाँ लोगो प्रतिस्थापन भएको छ।प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो ।
मंगलबार ११ बजे बसेको राष्ट्रिय सभाको बैठकमा नयाँ नक्सा सहितको लोगो राखिएको थियो। त्यस्तै १ बजे बस्ने प्रतिनिधि सभामा पनि लोगो प्रतिस्थापन गरिएको छ।
त्यसै सांसदहरुलाई पनि यही अनुरुपको लोगो प्रतिस्थापन गरेर वितरण गरिएको संसद सचिवालयले जनाएको छ।
सरकारले कालापानी र लिपुलेक सहितको भूभाग समेट्दै नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। उक्त नक्सापछि यसअघि निर्माण भएको संघीय संसदको लोगो काम नलाग्ने भएपछि परिर्वतन गर्ने निर्णय भएको थियो।
नेपालको नक्सामा लिपुलेक र कालापानीको क्षेत्र छुटेकाले नयाँ बनाउने निर्णय प्रतिनिधिसभा र राष्ट्रिय सभाले गरेको थियो। दुवै सदनको कार्य व्यवस्थाले नयाँ नक्सा अनुसार लोगो प्रतिस्थापन गर्ने निर्णय गरेको थियो।



















