भोलिदेखि खुल्दै छन् सरकारी कार्यालयहरु
काठमाडौं,३२ जेठ
असार १ गते अर्थात भोलिदेखि झन्डै ८४ दिन लकडाउनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउँदैछन् । सरकारले लकडाउनलाई खुकुलो बनाउने रणनीति स्वरुप सबै सरकारी कार्यालयहरु कोरोना सङ्क्रमणबाट सुरक्षा विधि अपनाएर सञ्चालन गर्ने रणनीति अघि बढाएको छ । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेको थियो ।
कार्यालय सञ्चालन हुने तर सार्वजनिक यातायात सञ्चालन नहुने भएपछि आफ्नो सवारी साधन नभएका कर्मचारीका लागि पैदल हिँडेर कार्यालय जानुबाहेक अर्को विकल्प छैन । यस्तै सवारी साधन भएका कर्मचारीहरुले पनि सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा सवारी पास बनाउनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले बैङ्क तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत अति आवश्यक सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेको थियो ।
यस्तै अति आवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा आवश्यक स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने, उपत्यकाभित्रका सार्वजनिक निकाय कर्मचारीलाई सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरुको हकमा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा कार्यालयमा रहेका कूल सवारी साधनमध्ये एक चौथाइ सङ्ख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने निर्णय गरेको थियो ।
यस्तै उपत्यका बाहिरका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट पास उपलब्ध गराउने नीति लिएको छ ।
लकडाउनका कारण कार्यालय बन्द भएपछि घर बसिरहेका कर्मचारी अब कार्यालय जाँदैछन् । कतिपय सरकारी कार्यालय सञ्चालन गर्ने कार्यतालिका पनि बनाएका छन् ।
मालपोत कार्यालय कलङ्कीले भने बारअनुसार निश्चित नगरपालिकाका सेवाग्राहीको काम गर्ने भएको छ । उद्धाहरणको रुपमा मालपोत कार्यालयमा आइतबार चन्द्रागिरी नगरपालिकाका सेवाग्रहीको मात्र काम हुनेछ भने सोमबार नागार्जुन नगरपालिकाका सेवाग्राहीको मात्र काम हुनेछ । कार्यालयमा भीडभाड कम गर्नका लागि मालपोत कार्यालयले बारअनुसार नगरपालिका छुट्याएर काम गर्न लागेको मालपोत कार्यालय कलङ्कीका सूचना अधिकारी नीलकण्ठ काफ्लेले रातोपाटीलाई जानकारी दिए ।
कर्मचारीहरु बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममा रहने व्यवस्था गरिएको उनले बताए ।
यता जिल्ला समन्वय समिति काठमाडौँको कार्यालय खुलिसकेको छ । अहिले कामको जिम्मेवारी कम भएका कारण केही कर्मचारी दैनिक रुपमा कार्यालयमा आउने गरेको अधिकृत लक्ष्मी सुन्दर अवालले जानकारी दिए ।
यता ललितपुर महानगरपालिकाको कार्यालयले दैनिक सेवा प्रवाह सुरु गरिसकेको उपप्रमुख गीता सत्यालले जानकारी दिइन् । राजस्व उठाउने काम मात्र नभएको र असार १ देखि त्यो काम पनि सुरु गरिने उनले बताइन् । लकडाउन खुकुलो पार्ने निर्णयअन्तर्गत बारअनुसार जोर बिजोर नम्बरका निजी सवारी सधान चलाउने निर्णयका कारण सबै कर्मचारी कार्यालयमा जान भने समस्या पर्ने उनले बताइन् । यस्तो अवस्थामा आवश्यक कर्मचारीलाई कार्यालयमा कसरी व्यवस्थान गर्नेबारे छलफल भइरहेको जानाकारी दिइन् ।
सरकारी कार्यालय खुलेसँगै निजी सवारी साधन नहुने सरकारी कर्मचारी तथा सेवाग्राहीलाई भने सास्ती हुने भएको छ । मोटरसाइकलमा पनि दुई जना चढ्न नहुने नियमका कारणले पनि सास्ती थपेको छ । सरकारको यो नियमको विरोध गर्दै कतिपयले एउटै घरमा बस्ने श्रीमान श्रीमतीलाई घरमा सँगै हुँदा कोरोना सङ्क्रमण नहुने मोटरसाइकलमा सँगै बस्दा कोरोना सङ्क्रमण कसरी हुन्छ भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् । सोमबारबाट आपसी दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा विधि अपनाउँदै सरकारी कार्यालयहरु सञ्चालन हुन लागेको हो ।
यसैगरी गैरसरकारी कार्यालयले पनि लकडाउन अगाडिजस्तै पूर्ववत् रूपमा सेवा दिने भएका छन् ।



















