विद्युतको पोलबाट खसेर मजदूरको मृत्यु
कञ्चनपुर, ४ असार
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ। नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोल ९खम्बा० बाट खसेर मृत्यु भएको हो। मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ।
विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेका थिए। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ। यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेको बताए।
‘खम्बाबाट खसेर मृत्यु भएको हो। शव अस्पतालमा राखिएको छ। घर परिवारलाई जानकारी दिइएको छ’ उनले भने,’के कसरी भएको हो, त्यसको अनुसन्धान गर्दैछौं’लुहारका श्रीमती र एक छोरी छन्। लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।



















