शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन
काठमाडौं,६ असार
अग्रज शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
तीन सातादेखि छातीमा देखिएको संक्रणका कारण उपचाररत् जोशीको स्ट्रोकका कारण शनिबार २ः४५ बजे काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो।
काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्।
उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन्।
जोशीको आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा शनिबार नै अन्त्येष्टि गरिने भएको छ।



















