दश वर्षअघि बसमा बम विष्फोटनको दुई आरोपी पक्राउ
रौतहट , १० असार ।
रौतहट प्रहरीले करिब १० वर्षअघि यात्रुबाहक बसमा बम विष्फोट गराएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र उनका साथी दिलीपकुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख रविराज खड्काका अनुसार जिल्ला प्रहरी कार्यालय गौरबाट गएको टोलीले बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुईजना अभियुक्तलाई इशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो । उनीहरू माथि यो घटनाको साथै अन्य अपराधिक गतिविधिमा पनि संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।
उनीहरूलाई आजै जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ । वि.सं. २०६७ साल चैत ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा वीरेन्द्र राजमार्गअन्तर्गत गौर–चन्द्रनिगाहपुर सडकखण्डको हजमिनियामा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।
सो को जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो। सो घटनामा आरोपित अन्य फरार ५ जना फरार रहेको र उनीहरूको पनि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



















