काठमाडौंमा श्रीमानले चक्कु प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं,११ असार
टोखा नगरपालिका–३ बानियाटार हाइट बस्ने कृष्णहरि बानियाँलाई पछिल्लो समय श्रीमती काममा गएको मन परेको थिएन।
श्रीमती सरिना खड्का बानियाँ सहकारीमा काम गर्छिन् । उनी भने व्यापार गर्थे।
यही विषयमा घरमा झैं–झगडा भइरहेको थियो । बुधबार राति भने झगडाले उग्ररुप लियो।
मादक पदार्थ सेवन गरेका कृष्णहरिले आवेशमा सरिनालाई चक्कु प्रहार गरे । सरिनाको घटनास्थलमै मृत्यु भयो।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले प्रहरी पुग्दा सरिनाको मृत्यु भइसकेको बताए । हत्याको कारण परिवारिक कलह भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।
“पक्राउ परेका आरोपी यतिबेला केही बताउन सक्ने अवस्थामा छैनन्,” डीएसपी खड्काले भने, “ हामी अनुसन्धान गरिरहेका छौं।”
प्रहरीका अनुसार सरिनाको उमेर ४० वर्ष थियो कृष्णहरि भने ४३ वर्षका । मागी विवाह भएका उनीहरुका १२ वर्षका छोरा छन्।



















