स्वयम्भूमा साथीहरूले गरे साथीको हत्या !
काठमाडौं,१२ असार
स्वयम्भूमा एक जना व्यक्तिको हत्या भएको छ।
बिहीबार राति साढे ११ बजे स्वयम्भूको सडकपेटीमा अन्दाजी ४० -४५ वर्षका श्याम परियारको हत्या भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूले हत्या गरेको आरोपमा तीन जनालाई विभिन्न स्थानबाट पक्राउ समेत गरिसकेको छ।
‘बिहान परियार मृत फेला परेको खबर आयो। ऊ त्यहीँ सडकपेटीतिर बस्ने मान्छे हो,’वृत्तका डिएसपी निराजन भट्टले भने।
उनका अनुसार परियारका साथीहरूले हत्या गरी भागेका थिए।
‘हिजो उनी र अन्य तीन जना साथी सँगै बसेर रक्सी खाएका रहेछन् तर पछि पैसा तिर्ने विषयमा झगडा हुँदा साथीहरूले नै हत्या गरेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’उनले भने।
साथीहरूले सडकपेटीको इँट्टा ब्लकले टाउकोमा हानेर हत्या गरेका थिए।
प्रहरीले ओखलढुंगा लिखु गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ४७ वर्षीय शम्भु विक, महानगर वडा १६ पदमाजल बस्ने कृष्णमान शाक्य र काभ्रे दोलालघाट घर भई महानगर वडा १५ बस्ने रामलामा तामाङलाई नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



















