सिरहामा १५ वर्षीया वालिका वलात्कारको चार आरोपि पक्राउ
काठमाडौँ, २२ जेठ ।
सिरहामा किशोरी बलात्कार आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विनोद घिमिरेले दिएको जानकारीअनुसार जिल्लाको गोलबजार वडा नं. ३ की १५ वर्षीया बालिकालाई बलात्कार गर्ने औरही गाउँपालिका-२ का २० वर्षीय अम्बर यादवसहित उनलाई सहयोग गर्ने ३ युवकलाई समेत पक्राउ गरिएको हो।
पीडितले बुधबार बिहान दिएको उजुरीअनुसार प्रहरीले बलात्कार आरोपित युवकसहित उनलाई सहयोग पुर्याउने सिरहाकै नरहा गाउँपालिका-४ का २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, सुखिपुर नगरपालिका-६ का १९ वर्षीय गोलु महतो र औरही गाउँपालिक-२ का २३ वर्षीय जगरनाथ यादवलाई पक्राउ गरिएको डीएसपी घिमिरेले जानकारी दिए।
‘घटना मंगलबार रातिको हो,’ डीएसपी घिमिरेले बिहीबार बिहान भने, ‘बलात्कार एक जनाले गरेका रहेछन्, अरू तीन जनाले वातावरण मिलाउने काम गरेका रहेछन्।’
उजुरीमा ती बालिकाले गोलबजार नगरपालिका-३ गागन खोला छेउमा आफूमाथि जबर्जस्ती करणी गरेर ती युवक फरार भएको उल्लेख गरेकी छन्।
त्यही आधारमा खटिएको प्रहरी टोलीले मुख्य अभियुक्तसहित चार युवकलाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले बताए। पीडितको स्वास्थ्य परीक्षण गराई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















