काठमाडौंमा व्यवसायीद्वारा लकडाउन अवज्ञा पछि मन्त्रिपरिषद बैठक आज बस्दै
काठमाडौं,२२ जेठ ।
काठमाडौंका व्यवसायीहरुले लकडाउनको अवज्ञा गर्न थाले पछि मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामो समयदेखिको लकडाउनका कारण मर्कामा परेको भन्दै उनीहरुले पसलहरु खोल्न थालेका छन् । प्रहरीको सामना गर्ने भन्दै काठमाडौंका अधिकांश व्यवसायीहरुले पसल खोलेका छन् ।
बिहीबार काठमाडौंको विभिन्न स्थानमा सबै प्रकारका पसलहरु खोलिएका हुन् ।सरकारले लकडाउनको मोडालिटीबारे छलफल गरिरहेका बेला व्यवसायीहरुले लकडाउनको अवज्ञा गर्न लागेको हुन् । पहुँचवाला भाटभटेनी सुपर स्टोरजस्ता व्यवसायलाई खोल्ने दिएको सरकारले अन्य खाद्यन्न पसललाई समेट कडाइ गर्दै आइरहेका बेला व्यवसायीहरुले नै लकडाउनको अवज्ञा गर्न थालेका हुन् ।
बिहीबार काठमाडौंका चोक तथा गल्लीहरुमा सवारी चाप बढेको छ । जडिबुटी चोकलगायतका स्थानमा पनि सवारी चाप बढेको छ । सडकमा सवारी चाप बढ्न र व्यवसायीहरुले लकडाउन अवज्ञा गर्न थालिएपपछि बिहीबार अपरान्ह मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ ।
अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउन स्वरुप परिवर्तनबारे निणर्य गर्न सक्ने अपेक्षा गरिएको छ । यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे विज्ञहरुसँग छलफल गरेका थिए । यस्तै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको पनि संयुक्त बैठक बस्दैछ ।



















