उद्धार उडान जेठ ३२ बाट सुरु हुने, कुन देशका नेपाली कहिले आउँदैछन् ?(तालिका र भाडादर सहित)
काठमाडौं, २९ जेठ ।
लामो समय देखिको लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने समय तालिका र भाडा दर पनि सार्वजनिक भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । त्यसका लागि कुन देशवाट कहिले नेपाली ल्याइदैछ र कुन देशको भाडा दर कति हो भन्ने कुरा सार्वजनिक भएको हो ।
विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् ।
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार पहिलो उडान बंगलादेशका लागि यही जेठ ३२ हुने छ। नेपाल वायुसेवा निगमको जहाजले पहिलो उडान भर्नेछ। त्यस्तै असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गर्ने छ। असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडान र असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ।
यसैगरी, असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक उडान र असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ। असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ। असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछन्।
असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर त्यहाँबाट नेपाली ल्याइनेछ। असार ९ गते जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्। असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ। त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछन्।
मन्त्रालयले यि देशहरुवाट नेपालीलाई ल्याउँदा लाग्ने भाडा दर पनि सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार बंगलादेशका लागि १ सय ६५ डलर भाडा तोकिएको छ । यो सबैभन्दा कम भाडा दर हो । त्यस्तै सबैभन्दा महंगो भाडा लन्डनको छ । लण्डनका लागि १ हजार ३ सय ४० डलर तय गरिएको छ। त्यस्तै साउदी अरब ५९०, रियाद ६३०, जेद्हा ७७०, जोर्डन ८१५, साइप्रस ८७५, नारिता ९३५, सुडान ९४०, फ्रयाङकफर्ट १२५५, लन्डन १३४०, बांगलादेश १६५, नयाँ दिल्ली २०५, मुम्बइ ३१०, बैंगलोर ३३५, बैंकक ३९०, कम्बोडिया ४००, दुबई ५००, आवुदाबी ५००, ओमन ५१०, क्वाललम्पुर ५२०,दोहा ५४५, हङकङ ५५० डलर तोकिएको छ।



















