ट्रिपरको ठक्कर दिँदा घाइते सैनिकको मृत्यु
गोरखा,१८ असार
नेपाली सेनाको गाडीलाई ट्रिपरले ठक्कर दिँदा घाइते भएका चार जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार साँझ साढे पाँचबजेतिर गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा टिपरले ठक्कर दिँदा घाइते भएका चार जनामध्ये एकको आज उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। मृत्यु हुने पालङुटार नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय सिपाही प्रेम परियार हुन्।
टिपरको ठक्करबाट नेपाली सेनाका चार जना घाइते बुधबार साँझ साढे पाँचबजेतिर गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा मझुवा चेकप्वाइन्टबाट फर्कंदै गरेको बा १ झ ५८०० नंबरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु१क ३८४६ नंबरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा नेपाली सेनाका ३५ वर्षीय जमदार सीताराम सिलवाल, ३५ वर्षीय लेस नायक इन्द्रबहादुर तामाङ, २५ वर्षीय रञ्जित राना घाइते भएको थिए। घाइते चार जनामध्ये प्रेम र रञ्जितको अवस्था गम्भीर रहेपछि थप उपचारका लागि चितवन लगिएको थियो।
सीताराम र इन्द्रको भने गोरखा अस्पतालमा उपचारपछि गणमा फर्किसकेका थिए। गम्भीर घाइते भएर चितवन नै लगिएका रञ्जितको पनि आइसियुमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घटनालगत्तै टिपर चालक गण्डकी गाउँपालिका(८ बस्ने ३१ वर्षिय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको थप अनुसन्धान गरिरहेको डिएसपी बासुदेव खतिवडाले बताए।



















