जनकपुरमा आँपको प्रलोभन देखाइ ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ
जनकपुरधाम,२२ असार
जनकपुरकी ११ पर्षीया बालिका कञ्चनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटना भएको चार दिन पछि प्रहरीले बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला थाना काकोरी ग्राम पञ्चायत काकोरी वडा नं. ११ बण्डाखेराका ३२ वर्षीय दिपु सिंहलाई सार्वजनिक गरेको हो ।
बुधबार मृतक कंचन आँप टिप्न चौधरी र मिश्र इन्ड्रष्टिजमा जाँदा सिंहले आँप दिने भन्ने प्रलोभन देखाई ललाई फकाई सो इन्ड्रष्टिजको पछाडि पट्टीको बँगैचाको एकान्त कुनामा लगी बलात्कार गरेर मुख थुनी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

बलात्कार गरेर हत्या गरेको कंचनको शवलाई सिंहले आफूले प्रयोग गर्दै आएको बल्यान्केटमा बेरी शुक्रवार बिहान ३ बजेको समयमा दुधमति नदीको पश्चिम साईडको डिलमा रहेको सिकटको झाडीमा फालेको र शव भन्दा ५० मिटर पश्चिम दिलिप चौधरीको धानबाली खेतमा माटोले पुरीएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
अनुसन्धानको क्रममा प्रहरीले सिंहलाई आइतवार दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो । सिंह करिब ४/५ महिना देखि चौधरी र मिश्र इन्ड्रष्टिजमा काम गर्दै आएका थिए । यस घटनामा प्रहरीले एक अघोरी बाबासहित १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
सिंहले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थाका विनोद पंजियारका ११ वर्षीय छोरी कंचन बुधबार सोही स्थानको ईमली गाछी नजिक रहेको आँपको बगैँचामा भैँसी चराउँदै गरेको अवस्थामा हराएकी थिइन् ।



















