स्थलगतरुपमै न्याय दिँदै दक्षिणकालीको न्यायिक समिति

स्थलगतरुपमै न्याय दिँदै दक्षिणकालीको न्यायिक समिति

काठमाडौँ, २४ साउन

दक्षिणकाली नगरपालिकाको न्यायिक समितिमा आउने अधिकांश जग्गा विवादका उजुरीस्थलगतरुपमै प्राविधिक लगी नापजाँच गरेर समाधान हुने गरेको छ । विसं २०२२ को नापीअनुसार र स्थलगतरुपमा जग्गाको विवरण फरक परेकाले अधिकांश जग्गाकै उजुरी आउने गरेको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक वसन्ती डङ्गोल तामाङले राससलाई जानकारी दिनुभयो । यसरी सधियारका बीचमा पर्ने विवाद न्यायिक समितिमा पुगेपछि प्राविधिक लगेर स्थलगतरुपमा नापजाँच गरी मेलमिलापमै टुङ्गिने गरेको छ । जसबाट दुवै पक्ष सन्तुष्ट हुने गरेका छन् ।

विवाद भएका दुवै पक्षको कुरा सुनिसकेपछि स्थलगतरुपमै गएर प्राविधिक जाँच गरेर दुवै पक्षलाई सन्तुष्ट बनाएपछि यस्तै प्रकृतिका अन्य समस्या पनि कम हुन थालेको नगरपालिकाका कानूनी सल्लाहकार रुक्मा कर्माचार्यले बताउनुभयो । हालसम्म अधिकांश उजुरी मेलमिलापमै मिलाएकाले इजलासको व्यवस्थासमेत गर्नु नपरेको नगरपालिकाले जनाएको छ । इजलासमा लैजानुपर्ने समस्या आए समाधान गर्ने गरी पूर्वाधार भने तयार गरिएको छ ।

नगरपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्षसम्म दर्ता भएका अधिकांश उजुरी मेलमिलापमै टुङ्गिएको छ । मेलमिलापमा नभई निर्णय गर्नुपरेको एउटा उजुरीकर्ता जिल्ला अदालत काठमाडौँमा मुद्दा हाल्न पुगेका थिए । पछि नगरपालिकामै मेलमिलापमा टुङ्ग्याउनुप¥यो भन्दै आएको कानूनी सल्लाहकार कर्माचार्यले सुनाउनुभयो ।

न्यायिक समितिमा जग्गा विवादसँगै अंशबण्डा, झै–झगडा, पारिवारिक समस्याका उजुरी आउने गरेका छन् । स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिलाई देवानी मुद्दा मेलमिलापमा टुङ्ग्याउने अधिकार छ । मेलमिलापमा नटुङ्गिने यस्ता उजुरीमा चित्त नबुझ्नेले जिल्ला अदालतमा मुद्दा हाल्न पाउँछन् । फौजदारी मुद्दा हेर्ने अधिकारी भने समितिलाई छैन । रासस