क्रिकेटर ललित भण्डारीको उपचारका लागि सिप्यानले सहयोग गर्ने
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको उपचारका लागि सहयोग गर्ने भएको छ । भण्डारीको उपचारमा सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको एक विज्ञप्ति जारी गर्दै सिप्यानले जनाएको छ ।
क्रिकटर भण्डारीको अहिले ग्राण्डी हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ । आइतबार कञ्चनपुरको झलारीमा ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए ।
त्यसपछि धनगढीको निसर्ग हस्पिटलमा उपचारपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँबाट पनि उनलाई थप उपचारका लागि काठमाडौंको ग्राण्डी हस्पिटलमा सोमबार ल्याइएको छ । भण्डारीको हात र खुट्टाको अप्रेशन गर्नुपर्ने छ भने कलेजोमा पनि चोट लागेको छ ।सिप्यानले भण्डारीको सहयोगका लागि सिप्यानसँग हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णलाई अपिल पनि गरेको छ ।
सहयोग गर्न चाहनेले सिप्यानको पुलतीसडकस्थित सेन्चुरी कमर्सियल बैंक लिमिटेडको खाता नम्बर ००१०००२५२९ सीएमा रकम जम्मा गराउन सक्ने सिप्यानले जनाएको छ ।






















