चितुवा मारेर फरार भएका पञ्चलाल १४ बर्षपछि पक्राउ
चितवन, १३ पुष ।
चितुवा मारेर फरार भएका माडी–९ का पञ्चलाल प्रजालाई चितवन राष्ट्रिय निकुञ्जले १४ बर्षपछि पक्राउ गरेको छ । निकुञ्जको अनुसन्धानबाट पञ्चलाल दोषि ठहर भएपछि उनी फरार थिए । उनलाई एक बर्ष कैद वा एक बर्ष कैद बराबरको नगद जरिवाना लिने निकुञ्जले निर्णय गरेको थियो ।
एउटा चितुवा मारेर फरार रहेका प्रजा १४ बर्षपछि हिजो आइतबार निकुञ्जको मध्यवर्ती क्षेत्र माडी–९ बाँदरझुलाबाट पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । त्यस्तै, निकुञ्जले सालक मारेको कसुरमा दुई जनालाई आइतबार माडी–९ बाँदरझुलाबाट पक्राउ गरेको छ ।
निकुञ्जको विशेष अपरेशनपछि सालक मारेर सुकुटी बनाएर खाने र सालकको अखेटोपहार (खपेटा) बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । उनीहरुको साथबाट ३७५ ग्राम सालकको खपेटा, सालक मार्न प्रयोग भएको जाल र पासो बरामद गरिएको र थप अनुसन्धान भईरहेको उनले बताए ।



















