विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
चितवन, २६ माघ ।
आर्थिक अवस्था कमजोर भएर विद्यालय नियमित जान नसकेका विद्यार्थीहरुलाई चितवनकाे रत्ननगर उद्योग वाणिज्य संघले आज शैक्षिक सामग्री सहयोग गरेको छ । रत्ननगर-११ का ५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघले बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । शैक्षिक सामग्री हस्तान्तरणसँगै पञ्चकन्या माध्यमिक विद्यालयका बालबालिकासँग बाल श्रम, बाल विवाह र जन्मदर्ता सम्बन्धी अन्तरक्रिया गरिएको छ । विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रमको सहजीकरण बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका सन्तोष रेग्मीले गरेका थिए ।
संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा अध्यक्ष शशिभक्त न्यौैपाने, बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक तथा संघका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुराल,विद्यालयका प्रधानाध्यापक वालकृष्ण तिमिल्सिना, बाल क्लबका अध्यक्ष सलिना दुवाडी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संघका वस्तुगत उपाध्यक्ष तथा बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रम सदस्य रघुनाथ भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराज ओझा, शिक्षक अभिभावक संघका अध्यक्ष कविनाथ न्यौपाने, बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका सदस्यद्वय निरञ्जन थापा र हरि अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष कविनाथ न्यौपाने, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको समेत सहभागिता थियो ।



















