बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकको ताला
विराटनगर,५ फागुन।
तीन वर्षदेखि चिकित्सक बढुवा रोकिएको भन्दै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा बुधबार तालाबन्दी गरिएको छ।
माग सम्बोधन नभएपछि तालाबन्दी गर्नुपरेको चिकित्सक तथा दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए। समाजले नै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको हो। ३–३ महिनामा बढुवा हुनुपर्ने प्रावधान रहेको तर पछिल्लो समय ६ महिनामा बढुवा गरिँदै आएको चिकित्सा कल्याण समाजले जनाएको छ।
समाजका अनुसार पछिल्लो समय ३ वर्षदेखि बढुवा रोकिएको छ। कोरोनाको उपचारमा खटिएका चिकित्सकहरूलाई कोरोना भत्ता अझै उपलब्ध नगराएको भन्दै समाज केही दिन अघिदेखि आन्दोलित रहेको पूर्व महासचिव डा. मधुर बस्नेतले बताए।
प्रतिष्ठानमा जोडिएको इन्टरनेटमा व्यापक घोटाला भएको र विद्युतमा समेत घोटाला भइरहेको मुद्दा उठाएर आन्दोलनरत रहेको समाजले १८ दिनअघि शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको थियो।