मन्त्रालयले दियो अस्पतालहरुलाई डाक्टरको परामर्श शुल्क तत्काल वृद्धि नगर्न निर्देशन
काठमाडौं,६ फागुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपीडी सेवामा चिकित्सकहरुको परामर्श वापत्को शुल्क तत्काल वृद्धि नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
बुधबार प्राइभेट हेल्थ इन्स्टिच्युसन एसोसिएसन (अफिन) र नेपाल चिकित्सक संघले शुल्क वृद्धिको एकलौटी निर्णय गरेको भन्दै तत्काल शुल्क नबढाउन निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संघले गरेको शुल्क वृद्धिको निर्णयप्रति ध्यानाकर्षण भएको बताए । शुल्क वृद्धिका विषयमा संघ र मन्त्रालयबीच छलफल भएको तर मन्त्रालयले अन्तिम निर्णय नगरिसकेको अवस्थामा शुल्क वृद्धि गर्न नमिल्ने उनले उल्लेख गरे । सरकारले २०७१ भदौ १ गते निर्धारण गरेकै शुल्क कायम राख्न अस्पतालहरुलाई मन्त्री त्रिपाठीको निर्देशन छ ।
बुधबार प्राइभेट हेल्थ इन्स्टिच्युसन एसोसिएसन (अफिन) र नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै कार्यानुभवको आधारमा अस्पतालहरुमा चिकित्सकको ओपीडी परामर्श शुल्क बढाउने निर्णय गरेको थियो । निजी क्षेत्रका चिकित्सकहरुको तलब वृद्धि गर्ने विषयमा भने सहमति गर्न सकिने मन्त्री त्रिपाठीको भनाइ छ ।