वृद्धाको हत्या आरोपमा मकवानपुरकी शोभा पक्राउ
चितवन, ०६ फागुन ।
गत असोज ७ गते भरतपुर–९ की ७४ वर्षीया बाबाहजुर थापालाई हत्या गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउगरी सार्वजनिक गरेको छ ।
वृद्धाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले फागुन २ गते मकवानपुरको थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया महिला सविना सुनार भनिने शोभा बिकलाई पक्राउ गरेको हो । फागुन २ गते पक्राउ परेकी बिकलाई प्रहरीले आज (बिहीबार) पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको छ । आरोपी सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ती महिला पटके चोरीमा संलग्न रहेको जानकारी दिए ।
मोबाइल र गरहरना लुटपाट गरी थापाको हत्या गरिएको भन्दै अधिकारीले आरोपित बिकले हत्या गरेको स्वीकार गरेको बताए । लुट्ने उद्देश्यले थापाको घरमा पुुगेकी बिकसँग थापाले प्रतिकार गर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेकी बिकलाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी मुलुकी अपराध संहिता–२०७४ को ज्यान सम्बन्धि कसुर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।