शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध छुः चितवन प्रहरी प्रमुख अधिकारी
सुजन पण्डित
चितवन, ०६ फागुन ।
केही दिन अघिदेखि मात्रै कार्यभार सम्हालेका चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक अधिकारीले नेपाल सरकार र विद्यमान ऐन कानुनले दिएको जिम्मेवारी आफ्नो बलबुताले भ्याएसम्म पूरा गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने बताएका हुन् । ‘म भरखरै चितवन आएर कार्यभार सम्हालेको छु, मैले यस्तो गर्छु, उस्तो गर्छु भनेर भन्दिनँ’ अधिकारीले भने, ‘मैले सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु ।’ चितवनमा वाग्मती प्रदेशकै सुरक्षा चुनौती भएको भन्दै प्रहरी उपरीक्षक अधिकारीले यहाँ जनशक्तिको कमी भएको बताए ।
‘चितवनमा प्रहरीको रिजर्भ फोर्सका लागि १०० जना प्रहरी थप्नेगरी वाग्मती प्रदेश प्रहरी कार्यालयले मलाई घर खोज्न भनेको छ’ अधिकारीले भने, ‘हामीले घर खोजीरहेका छौँ, घर फाइनल भएपछि जिल्लामा रिजर्भ फोर्स हुनेगरी १०० जना प्रहरी आउनेछन् ।’ समाजमा नकारात्मक सोच हावी हुँदै गएकाले यसको समाधान गर्नुपर्नेमा अधिकारीले जोड दिए । ‘समाज नकारात्मकतातर्फ उन्मुख हुँदैछ’ अधिकारीले भने, ‘यो डरलाग्दो रोग हो, यसलाई सुधार गर्नु आजको प्रमुख चुनौती हो ।’
प्रविधिमैत्री प्रहरी आजको आवश्यकता भएको अधिकारीले बताएका छन् । जिल्लाका मुख्य शहरी क्षेत्रमा राखिएका अधिकांश सिसी क्यामेरा बिग्रिएका भन्दै अधिकारीले तिनीहरुको मर्मतसम्भार हुनुपर्नेमा जोड दिए । ‘सिसी क्यामेराले अपराध अनुसन्धानमा सघाउँछ, तर जिल्लाका अधिकांश सिसी क्यामेरा बिग्रिएको अवस्थामा रहेका छन्’ अधिकारीले भने, ‘अपराध नियन्त्रणमा सिसी क्यामेरा प्रयोग हुनेगरी काम अगाडि बढाउनुपर्छ ।’