काँग्रेस नेता मित्रसेन दाहालको निधन
काठमाडौँ,७ फागुन ।
काँग्रेसका नेता मित्रसेन दाहालको असमायिक निधन भएको छ । काँग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको शुक्रबार बिहान ९: ४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको थियो ।
ad
वि.सं. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मिएका भएका दाहाल वि.सं. २०७४ सालमा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा ओखलढुंगा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार समेत थिए ।
स्वर्गीय दाहालले नेपाली कांग्रेसद्वारा संचालित वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका थिए ।
स्वर्गीय दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएका थिए ।
स्वर्गीय दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
उनको आजै अपरान्ह ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ ।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता मित्रसेन दाहालको असमायिक निधनप्रति दुख व्यक्त गरेका छन् ।
काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा सभापति देउवाले स्वर्गीय दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ उनका शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।