प्रतिनिधिसभा विघटनको बहस सकियो, ११ गते अर्को पेशी
काठमाडौं,७ फागुन ।
दुई महिनादेखि जारी प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथिको बहस आज सकिएको छ । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको हो ।
शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको छ । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।
यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए। प्रधानन्यायाधीश जबराले फागुन ११ गतेदेखि यो मुद्दा हेर्दाहेर्दैमा हुने बताए।
पुष ५ गते प्रतिनिधिसभा विघटनपछि परेका एक दर्जन मुद्दामा सर्वोच्चको संवैधानिक इजलास सुनुवाइ जारी छ। प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विपक्षी वकिलको तर्क छ।