प्रदेश दुईका प्रमुख हटाइएकोमा काँग्रेसको विरोध
काठमाडौं,७ फागुन ।
नेपाली कांग्रेसले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त र राजेश झालाई नियुक्त गरिएको घटनाक्रमको विरोध गरेको छ ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कामचलाउ सरकारले प्रदेश प्रमुखलाई बर्खास्त र नियुक्त गर्न नसक्ने दाबी पेश गरेका छन् ।
‘सरकारको सिफारिसमा २ नं. प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
शर्माले अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको आरोपसमेत लगाए ।
‘आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।
शर्माले संसद विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नपाइने बताएका छन् ।
‘अतः यसप्रति कडा विरोध जनाउँदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।