“कोभिड–१९ विरुद्धको खोप सुरक्षित”
नवलपुर, १९ फागुन ।
कोभिड–१९ विरुद्धको खोप लगाउँदा कोही पनि डराउन नपर्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनुभएको छ । मङ्गलबार देवचुली नगरपालिकाको दलदलेमा आयोजित ‘स्वास्थ्य समृद्धि र सुरक्षा : कोभिड–१९ खोपले गर्छ रक्षा’ विषयक अभिमुखीकरण तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा चापागाईंले ढुक्क भएर कोभिड विरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । नवलपुरमा आगामी फागुन २३ गतेदेखि शुरु हुने दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि सम्पूर्णलाई सुरक्षितका साथ भ्याक्सिन लगाउन चापागाईंले आग्रह गर्नुभयो ।
कोभिड–१९ विरुद्धको खोपको विषयमा विभिन्न किसिमका भ्रमहरु फैलिए पनि वास्तवमा कोरोना खोपले कुनै प्रकारको नकारात्मक असर नगर्ने चापागाईंले बताउनुभयो । खोप लगाए पश्चात सामान्य किसिमको लक्षण देखिए पनि डराउनुपर्ने अवस्था नरहेकाले सम्पूर्णलाई खोप लगाउन उहाँले आग्रह गर्नुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डाका डा. सविता लम्सालले कोरोना विरुद्धको खोप लगाएपछि हुनसक्ने सम्भावित घटना (ए.ई.एफ.आई) व्यवस्थापन कसरी गर्ने, कोरोना खोप लगाउनु कतिको उपयुक्त हो जस्ता विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।