विवाहको नाटक गर्दै टीकोटालो गरेर बलात्कार गर्ने दुई युवा पक्राउ
काठमाडौं,२ चैत ।
तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।
यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई बलात्कार गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।
1
अनिल कुशवाहाले गाउँकै १९ वर्षीया किशोरीसँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी किशोरीलाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो ।
अनिलविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले १६ वर्षकी किशोरीलाई बिहे गर्छु भन्ने प्रलोभन दिई फागुन ८ गते राति उनकै घरमा जबरजस्ती करणी गरेका थिए । त्यसपछि फागुन १३ गते रोशनले किशोरीलाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए । डेरामा पनि रोशनले उनीसँग पटकपटक जबरजस्ती करणी गरेका थिए । किशोरी घरबाट बेपत्ता भएपछि उनका अभिभावकले खोजतलास गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पीडित किशोरीलाई गोरखपुरबाट घर पठाइदिएका थिए ।
किशोरी घर आएर आफूसँग भएको दुष्कर्मका बारेमा अभिभावकलाई बताएपछि पीडितका बुबाले रोशनविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा प्रहरीले आरोपित रोशनलाई उनकै घरबाट पक्राउ गरेको हो।नेपाल समाचारपत्रबाट





















