लागुऔषध विरुद्ध प्रहरीको सडक नाटक
चितवन, ३ चैत ।
समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि भन्दै प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय चितवनसँगकोे सहकार्यमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले लागुऔषध विरुद्ध सचेतनामूलक सडक नाटक तथा प्रहरी ब्याण्डद्वारा सांगीतिक धुन (म्युजिक थेरापी) प्रस्तुत गरेका छन् ।
लागुऔषध विरुद्धको अभियान अन्तर्गत भरतपुरको चौबीसकोठीमा कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले म्युजिक थेरापी र सडक नाटक मार्फत सर्वसाधारणलाई सचेत बनाउने काम गरिएको बताए । सडक नाटकका क्रममा सार्वजनिक सवारी साधनमा हुने महिला दुर्व्यवहार, लागु औषधको दुर्व्यसनी तथा कारोबारीहरुबारे प्रष्ट्याइएको उनले जानकारी दिए ।
विश्वमा ३० करोडको हाराहारीमा लागुऔषध दुव्र्यसनी रहेका भन्दै थापाले नेपालमा मात्रै ६ लाख बढी दुर्व्यसनी रहेको बताए । उनकाअनुसार नेपालमा बर्सेनि नौ हजार बढी लागुऔषध प्रयोगकर्ताहरुले ज्यान गुमाउने गरेका छन् । किशोरा अवस्थादेखि नै कुलतमा फस्नसक्ने भएकाले अभिभावकहरु सचेत हुनुपर्नेमा थापाले जोड दिए ।
सो अवसरमा पूर्व लागुऔषध प्रयोगकर्ता सुवीन्द्र थापाले आफ्नो अनुभव सुनाएका थिए । १५/१६ वर्षकै उमेरमा साथीहरुको संगतका कारण लागुऔषध दुर्व्यसनीमा फसेको भन्दै उनले अहिले आफू सामान्य जीवनमा फर्किएपश्चात दुर्व्यसनीहरुका लागि सुधार गृह सञ्चालन गरेर बसेको बताए । लागुऔषधका कारण जीवनको महत्वपूर्ण समय गुमाउनुपर्ने भन्दै थापाले बेलैमा सचेत हुनुपर्नेमा जोड दिए ।



















