पाउडर दूध बनाउँदै अन्नपूर्ण दुग्ध सहकारी
चितवन, २ असार ।
भरतपुर महानगरपालिका-६ केशरवागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध सङ्कलन गरेर पाउडर दूध बनाउँदै आएको छ । कोरोना सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका समयमासमेत किसानले उत्पादन गरेको दूध सङ्कलन गरेर सहरकारीले पाउडर दूध उत्पादन गरी दूधलाई खेर जान नदिएको जनाएको छ ।
सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईंकाअनुसार सरकारले निषेधाज्ञा जारी गरेको समयमा पनि सहकारीले किसानहरुसँग दैनिक ८ हजार लिटर दूध सङ्कलन गरिरहेको छ । सङ्कलित दूधमध्ये एक हजार ५०० लिटर दूधलाई प्रशोधन गरी दूध, दही, घिउ, पनिर, नौनी, क्रिम बनाएर बिक्रीवितरण गर्ने गरेको अध्यक्ष चापागाईंले बताए । महामारी सुरु हुनुअघि ५ हजार लिटर दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बनाई बिक्रीवितरण गर्ने गरेको उनले बताए ।
त्यसैगरी २ हजार लिटर दूध दुग्ध विकास संस्थान, आधुनिक डेरी काठमाडौँ र भलटार डेरी धादिङमा जाने गरेको छ । बाँकी साढे ४ हजार लिटर दूध प्रशोधन गरी पाउडर दूध र नौनी बनाउने गरेको अध्यक्ष चापागाईंले बताए ।
किसानबाट संकलित उक्त दूध पोखरामा रहेको सुजल मिल्क उद्योगले लिएर पाउडर बनाइदिने गरेको छ । उक्त पाउडर र नौनी पुनः संस्थामा ल्याउने गरेको उनले बताए । २५ केजीको प्याकिङमा आएको पाउडर दूध किसानले ल्याएको दूधको परिमाणको आधारमा फिर्ता दिने गरेको उनको भनाइ छ । १३ लिटर दूध बराबर एक केजी पाउडर तयार हुने र त्यसको लागत १४ रुपैयाँ ५० पैसा प्रति केजी पर्ने गरेको अध्यक्ष चापागाईंले जानकारी दिए ।
किसानले दूध ल्याएको अनुपातको आधारमा पाउडर दूध दिने गरेको उनले बताए । बन्दाबन्दी र महामारीको बेला किसानको दूध सडकमा खनाउन नपरोस् भन्नका लागि यो अभियान सुरु गरिएको अध्यक्ष चापागाईंको भनाइ छ । वैशाख महिनामा संस्थाले किसानसँग दूध खरिद गरेर पाउडर बनाइ भण्डारण गरिराखेको छ ।
संस्थाले बिक्री वितरण गर्नुपर्ने ६०० बोरा अर्थात् १५ हजार केजी पाउडर दूध भण्डारण गरी राखिएको उक्त संस्थाका व्यवस्थापक करुण पोख्रेलले बताए । उक्त दूध प्रति केजी ६०० रुपैयाँका दरले बिक्री वितरण गरिरहेको उनले जानकारी दिए । बजार बन्द हुँदा र मिल्क होलिडेमा पनि दूधको सदुपयोग गर्न यो अभियान सुरु गरेको उनको भनाइ छ ।





















