चितवनमा भोलिदेखि जुत्ताचप्पल प्रदर्शनी सुरु हुँदै
चितवन, १६ फागुन ।
नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रवद्र्धनका लागि चितवनको भरतपुरमा प्रथम फुटवयर एक्स्पो २०७९ हुने भएको छ ।
चितवनको भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा फागुन १७ गतेदेखि चैत १७ गतेसम्म फुटवयर एक्स्पो हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाली जुत्ता घर र चितवन उद्योग संघको संयुक्त आयोजनामा हुने एक्स्पोमा १० भन्दा बढी नेपाली उद्योगले उत्पादन गरेका करिब एक हजार प्रकारका जुत्ता तथा चप्पलहरु एकै ठाउँमा प्रदर्शन गरिने बताइएको छ । नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीमा नेपाली उत्पादनका जुत्ताचप्पलका ४० वटा स्टर रहने जानकारी दिए ।
उपाध्यायकाअनुसार प्रदर्शनीमा तीन सय रुपैयाँदेखि पाँच हजार रुपैयाँ मूल्यसम्मका जुत्ता चप्पलहरु पाइने छन् । नेपाली जुत्ता चप्पलाई प्रोत्साहन गर्ने उद्देश्यले चितवनमा प्रदर्शनी गर्न लागिएको उपाध्यायको भनाइ छ । पत्रकार सम्मेलनमा नेपाल फुटवयर एशोसिएसनका अधयक्ष नानीराज घिमिरेले नेपाली जुत्ताहरु गुणस्तरीय र कम मूल्यमा पाइने उल्लेख गर्दै स्वेदशी उत्पादन प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताए ।
नेपाली उद्योगको बर्सेनि १६ करोड जुत्ता चप्पल उत्पादन गर्ने क्षमता भए पनि हाल १० करोड उत्पादन गर्दै आएको घिमिरेको भनाइ छ । घिमिरेले नेपालमा खपत हुने जुत्ता चप्पलमध्ये वार्षिक एक करोड हाराहारीमा विदेशबाट निर्यात भइरहेको बताए । एक महिनासम्म चल्ने प्रदर्शनीमा नेपाली जुत्ता उद्योगहरुले होलसेल तथा खुद्रा मूल्यमा जुत्ताचप्पल बिक्री मात्रै गर्ने नभइ डिलरशीप लिन चाहने नेपाल भरका व्यवसायीलाई डिलरशीप दिने समेत घिमिरेको भनाइ छ । घिमिरेकाअनुसार प्रदर्शनीको दुई लाख स्वेदशी तथा विदेशी अवलोकनकर्ताले अवलोकन गर्नुका साथै तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले प्रदर्शनीबाट नेपाली उपभोक्ता र व्यवसायीले लाभ लिन सक्ने बताए । चितवनमा पहिलोपटक नेपाली जुत्ता चप्पल प्रदर्शनी आयोजना गरिएको भन्दै न्यौपानेले यस प्रकारका प्रदर्शनीबाट स्वदेशी उत्पादनको प्रचार प्रसारसँगै नेपाली उत्पादनबारे उपभोक्तालाई जानकारी दिन सकिने बताए ।



















