मानसिक दवाबमा रहेर देशका लागी कसरी खेल्ने – सन्दीपका वकिल
काठमाडौं | सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुन सकेन । नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि भोलि दक्षिण अफ्रिका जाँदैछ । सन्दीपको मुद्दामा सुनुवाई नभएपछि उनी उक्त खेलमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने सबैको चासोको विषय बनेको छ ।
आज (मंगलबार) उनको मुद्दाको पेशी तोकिएपनि सुनुवाई प्रक्रिया अगाडि बढ्न सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा परेको उनीविरुद्धको मुद्दा जाहेरवालाको अन्तिरिम क्षतिपुर्तिका निवेदनको कारण स्थगित भएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।
‘जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिनुभएको थियो । त्यो निवेदनमाथि निर्णय होस् अनि गर्ने भन्नेतर्फ लाग्नुभयो । न्यायाधीशले पनि फैसला गर्नतिर अलिकति हिचकिचाएको जस्तो फिल भयो हामीलाई,’-रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दैै अधिवक्ता घिमिरेले भने ।
सन्दीपलाई खेल्न जानका लागि अदालतले नरोकेको भएपनि मानसिक दवाबमा कतिदिन खेलाउने भन्ने कुरा महत्वपूर्ण रहेको अधिवक्ता घिमिरे बताउँछन् । सार्वजनिक चासोको विषयमा कोर्टले फैसला नर्दा मानसिक दवाबमा राज्यका लागि कतिदिन खेल्नाउने भन्ने प्रश्न उठेको उनी बताउँछन् ।
‘बाहिर खेल्न जानका लागि रोकेको छैन । जाने कि नजाने भन्ने भन्ने कुरा रह्यो । मानसिक दवाबमा उसलाई कति खेलाउने भन्ने कुरा चाहिँ रह्यो अहिले आएर । कोर्टले फैसला नगर्दिने । मानसिक दवाबमा राज्यका लागि कहिलेसम्म खेलिरहने हो त नि ?’- उनले प्रश्न गरे ।
सन्दीपको मुद्दामा अदालत सधै उम्किन खोजेको अधिवक्ता घिमिरेको भनाई छ । अहिलेकै अवस्थामा सन्दीपलाई खेल्न पठाउने कि नपठाउने भन्ने बारेमा केही बेरमा टिम बसेर टुंगोमा पुग्ने उनले बताए ।
‘सार्वजनिक चासोको विषय रहेको र चाँडै टुंग्याउन पर्ने भन्ने कुरामा अदालत पनि उम्किन खोज्ने । उसलाई कहिलेसम्म खेला भन्ने ? डेढ महिनासम्म त म्याद तारिख गुज्रिन्छ । खेल्नलाई त रोकेको छैन । मानसिक दवाबमा कसरी खेलाउने भन्ने कुरामा अहिले हामी टिम बस्दैछौं । अनि जाने नजाने निक्र्यौल गर्छौ,’-उनले भने ।
फैसला नहुँदा सन्दीपको करिअरमा धक्का लागिरहेको उनले बताए । यसरी सन्दीपलाई मानसिक दवाबमा राख्न नहुने उनको भनाई छ ।