मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत, विश्वकप गोल कीर्तिमान बराबरी
चितवन, ०३ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा कप्तान लियोनल मेसीको ह्याट्रिक प्रेरित अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को प्रभावशाली जित दर्ता गरेको छ।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा मेसीले १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए। यो मेसीको विश्वकप करियरको छैटौँ सहभागिता हो।
यस ह्याट्रिकसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरेका छन्। उनले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका हुन्।
साविक विश्वविजेता अर्जेन्टिनाले प्रतियोगितामा विजयी सुरुआत गर्दै उपाधि रक्षा अभियानलाई सकारात्मक बनाएको छ। उत्तर अफ्रिकी राष्ट्र अल्जेरियाविरुद्धको जितसँगै अर्जेन्टिनाले समूह चरणमा महत्वपूर्ण तीन अंक बटुलेको छ।


























