प्रधानमन्त्रीद्वारा ‘स्टुडियो ओलम्पिको रोमा’को अवलोकन
काठमाडौं,११ साउन। मन्त्री पुष्पकमल दाहालले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् ।
इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए ।
रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।
उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।
रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । रङ्गशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।