रत्ननगर उवा संघद्धारा प्रमुख जिल्ला अधिकारीलाई स्वागत
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रजिअ थापालाई स्वागत गर्दै जिल्लामा व्यवसायिक सुरक्षामा देखिएका समस्या दर्साउदै सामधानको लागि आग्रह गरिएको छ । संघले पूर्वी चितवनबाट भरतपुर जाने मिनीबसलाई पारसबसपार्कमा रोक्ने महानगरको निर्णयलाई प्राथमिकताका साथ उठाउदै सार्वजनिक यातायातलाई विना रोकावट नारायणगढ बजार सम्म जाने बाताबरण बनाउन आग्रह गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले व्यवसायिक सुरक्षाको विषयमा प्रजिअलाई ध्यानाकर्षण गराउर्दै चितवन जिल्लाको पहिचानको रुपमा रहेको पोल्ट्री, माछा, तरकारी, मह, दुग्ध लगायतका खाद्यान्नबालीको प्रवद्र्धन र सम्वद्र्धनका लागि भारतबाट अवैध रुपमा आयात हुने बस्तुहरुलाई निरुत्साहितका लागि पहल गर्न आग्रह गरे । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं बिशिष्ठ सदस्य ज्ञान बहादुर विसुरालले चितवनका अवैध रुपमा सामानहरु आयात हुँदा व्यवसाय धराप, बेरोजगार, राजश्व चुहावटमा बृद्धि भएको भन्दै यसलाई नियन्त्रण गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्ने अगुवा व्यवसायीहरुले मूल्यवृद्धि नियन्त्रण, व्याजदर, अबैध रुपमा संचानल रहेको व्यवसायीहरुको नियन्त्रण, जथाभावी सवारी चेकजांच लगायतको विषयमा ध्यानर्कषण गराउदै पूर्वी चितवनबाट चल्ने सार्वजनिक यातायातका साधनहरुलाई पारस वसपार्कमा रोक्ने र अर्को सवारी साधन फेर्नुपर्ने झन्झटलाई हटाई निर्वाधरुपमा सार्वजनिक यातायात चल्न बाताबरण बनाउन आग्रह गरे । व्यवासयीहरुले व्यवसायिक सुरक्षासंगै बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ठोस कदम चाल्न प्रजिअ थापालाई आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले चितवन अर्थतन्त्र एवंम् रणनीतिक हिसावले महत्वपूर्ण जिल्ला भएकोले निजी क्षेत्रसंग सहकार्य गरी अवैध रुपमा भित्रिने सामाग्रीहरुको नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरे । निजी क्षेत्रको उत्थानमा सदैव सहकार्य गर्न तयार रहेको भन्दै उनले सार्वजनिक यातायातका साधनका विषयमा उठेका समस्या सामाधानका लागि सम्वन्धित निकायहरुसंग छलफल गरी समाधान गर्ने प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्षहरु, विभिन्न बस्तुगत समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले २०८० पौष २६ देखि माघ ८ गते सम्म संचालन हुने रत्ननगर महोत्सव २०८० लाई सफल बनाउन र जिल्लाको आर्थिक सामाजिक एवं समग्र विकासकमा लागि जिल्ला प्रशासन कार्यालयसंग सहकार्यमा अगाढि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम महासचिव निराजन खनालले कार्यक्रम संचालन गरेका थिए ।