रत्ननगरमा भदौं २९ गते रोटरीको रक्तदान
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही भदौं २९ गते बृहद् रक्तदान हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गर्ने सो कार्यक्रममा करिब ४०० बढी युनिट रगत संकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । न्यू क्यापिटल कलेज परिसरमा विहान ७ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने छ । रोटरी क्लवले शनिबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी रक्तदान कार्यक्रमको तयारी र उद्देश्यको बारेमा जानकारी दिएको हो । सन २०१९ मा रोटरीले गरेको कार्यक्रममा ४०५ युनिट रगत संकलन भएको थियो ।
कोरोनाले रोकिएको रोटरीको नियमित कार्यक्रम यस बर्षबाट सुरु गर्न लागिएको क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । ४०५ युनिट भन्दा बढी संकलन गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए । क्लवका पूर्व अध्यक्ष विपिन पोखरेलले जोखिम मोलेरै पहिलाको भन्दा संख्या बढाउने गरी लक्ष्य लिइएको बताए । सामाजिक काम गर्दै आएको रोटरी क्लवले चितवनमा भइरहने रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गर्न लागेको हो ।
सो क्लवले रत्ननगरका दुई ठाउँमा पुस्तकाल,टिकौलीमा शौचालन, सौराहामा घण्टाघर, सौराहामै रोटरी मुसहर भिलेज, रत्ननगर २ मा पार्क निर्माण तथा शक्तिखोरको लटौली विद्यालयमा दिवा खाजा तथा जग्गा खरिद गरी विद्यालय भवन निर्माण गरेको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस बर्ष रोटरीले कोरोनाले रोकिएको मिनी म्याराथुन र सौराहाको घण्टाघरमा सुन्दरता थप्ने काम गर्ने छ । पत्रकार सम्मेलनमा सुरेन्द्रनाथ रेग्मी, जगन्नाथ अधिकारी, प्रेमकृष्ण खनाल, स्पाउस क्लवकी अध्यक्ष गीता अधिकारी,न्यू क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धिताल लगायतको सहभागिता रहेको थियो ।