नेप्सेमा १९.४२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौँ । आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ विन्दुमा झरेको छ। अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से आज घटेको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.१०, फ्लोट इण्डेक्स १.१८ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८५ स्टकको ८१ हजार १० पटकको कारोबारमा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से घटे पनि स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। शुभम् पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस बैंकको शेयर कारोबार बढेको हो। बैंकको आज १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। आज लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ।