खैरहनी नगरपालिकामा गर्भवतीलाई रक्त परीक्षण, भिडियो एक्सरे र एम्बुलेन्स सेवा निशुल्क
खैरहनी | खैरहनी नगरपालिकाले गर्भवतीलाई रक्त परीक्षण, भिडियो एक्सरे र एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्ने भएको छ । खैरहनी नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने गर्भवती महिलाले निश्चित किसिमको रक्त परिक्षण, भिडियो एक्स रे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निशुल्क प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मार्फत यस्तो सुविधाको सुरुवात गरेको हो ।
उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमको सुभारम्भ गर्दै खैरहनी नगरपालिका नगर प्रमुख शशी कुमार खनियाले उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमको सफलता र निरन्तरताको लागि कर्मचारी लगायत सरोकारवाला सबै पक्षको साथ,सहयोग र समन्वय आवश्यक हुने बताउँदै नगर प्रमुख खनियाले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिका नगर-उपप्रमुख कविता उप्रेतीले गर्भवती महिलाहरुको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताको साथ कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयन गर्न लागिएको बताउनु भयो। खैरहनी नगरपालिकाको सभाहलमा सम्पन्न भएको गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्र. सापकोटा, विभिन्न वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्य संस्था प्रमुख, नर्सिङ फोकल पर्सन, महिला स्वास्थ्य स्वयं सेविका लगायतको सहभागिता थियो ।