खैरहनी नगर अस्पातालमा अत्याधुनिक मेसिन सहितको ल्यावबाट सेवा सुरु
चितवन , २९ असोज । खैरहनी नगरपालिकाको नगर अस्पतालमा अत्याधुनिक ल्यावबाट सेवा दिन सुरु गरिएको छ । अत्याधुनिक ल्यावको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका छन् । ल्याव उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शशी कुमार खनियाँले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुबिधा सम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले सबैभन्दा प्राथमिकता दिएर काम गर्दै आएको र गुणस्तरीय स्वास्थ्य सेवासुविधाको पहुँच टोलटोलमा पुर्याउन नगरपालिका प्रतिवद्ध रहेको बताए ।
सबै प्रकारका ल्याव जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटेको नगर प्रमुख खनियाँले बताए । नयाँ अत्याधुनिक मेसिन सहित अब खैरहनी नगर अस्पतालमै थाइराइड, भिटामिन डि, भिटामिन वि १२, बाथ, युरिक एसिड लगायतको परीक्षण हुने भएको छ । यस अघि थाइराइड, भिटामिन डि लगायतको परिक्षणको लागि अन्य ल्यावमा पठाउनुपर्ने बाध्यता रहेकोमा अब नयाँ मेसिन आएपछि ति परिक्षणहरु अस्पतालमै गरेर छिटो रिपोर्ट दिन सकिने भएको खैरहनी नगर अस्पतालका प्रमुख डा.प्रशान्त कंडेलले बताए ।
सबै प्रकारका ल्याव परीक्षणहरूलाई अटोमेटिक मेसिनबाट परिक्षण गरि थप गुणस्तरीय बनाउन अगाडी बढेको उनले बताए । ल्याव उद्घाटन कार्यक्रममा खैरहनी नगरपालिकाका उप प्रमुख कविता उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, अस्पतालका चिकित्सक र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।