नहर विभागको जग्गा तोकिएकै समयभित्र खाली गराउन एमाले बाहेक मुख्य दल तयार,कांग्रेस दुईधारमा विभाजित
चितवन , १३ कार्तिक । राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको वस्ती तोकिएकै समयमा हटाउन नेकपा एमालेबाहेक सबै ठूला दल तयार देखिएका छन् । राप्ती नगरपालिकाले श्रावण १७ गते एक सूचना जारी गर्दै ३ महिनाभित्र जग्गा खाली अनुरोध गरेको थियो । सूचनाको समयावधि सकिनासाथ वस्ती खाली गराउने राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले बताउदै आएका छन् ।
नगरपालिकाको निर्णयमा नेकपा एमालेबाहेक राप्तीमा क्रियाशिल अन्य मुख्य दलहरुले समर्थन जनाएका छन् । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जग्गा खाली गराउने कार्यमा सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तोकिएको समय अगावै वास्तविक पिडित र भूमिहिनको व्यवस्थापन गरि अतिक्रमित जग्गा खाली गर्ने कार्यमा सहयोग गर्ने भन्दै नेपाली कांग्रेस राप्ती नगर उपसभापति अनिता खरेल, नेकपा माओवादी केन्द्र राप्ती नगर कमिटि अध्यक्ष रामचन्द्र पाठक , नेकपा एकिकृत राप्ती नगर कमिटि संयोजक राम सेढाई , राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती नगर समितिका सभापति तिलक कार्की , राप्रपा राप्तीका अध्यक्ष गोपाल प्रसाद पाण्डेले संयुक्त विज्ञप्ति जारी गरेका हुन् |
नेकपा एमाले भने उचित व्यवस्थापन गरेर मात्रै वस्ती हटाउनुपर्ने कडा रुपमा आवाज उठाउदै आएको छ ।
जग्गा खाली गर्ने विषयमा नेपाली कांग्रेस दुईधारमा विभाजित
नहर विभागको जग्गा तत्कालै खाली गराउने विषयमा नेपाली कांग्रेसका नेताहरु दुईधारमा विभाजित भएका छन् ।
आइतबार मात्रै राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाको अध्यक्षतामा भएको सर्वदलिय बैठकमा बोल्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ का सभापति किरण भूषण ओलीले जग्गा खाली गर्नुपर्ने तर नगरपालिकाले उक्त जग्गामा बसोवास गर्नेहरुकोे उचित व्यवस्थापन नगर्दासम्म वस्ती खाली गर्न नदिने बताएका थिए । उनले समय थप गरेर भएपनि पहिला व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए ।नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य रामेश्वर सिहं ओली , महासमिति सदस्य राजेन्द्र बुर्लाकोटीले समेतले वास्तविक पिडित र भूमिहिनहरुको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त बैठक भएको भोलीपल्ट नै राप्ती नगर उपसभापति अनिता खरेल र चितवन क्षेत्र नम्बर १ क का प्रदेश सभापति गणेश मल्ल ठकुरीसहित अन्य दलका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नगरपालिकाको कदमको स्वागत सहित वस्ती हटाउन सहयोग गर्ने प्रतिवद्धताको विज्ञप्ति जारी गरेका छन् । राप्ती नगरपालिकाले गठन गरेको कार्यदलले कुनै काम नगरेको समेत संयुक्त विज्ञप्तिमा उल्लेख छ । राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाको संयोजकत्वमा नगरपालिकाले कार्यदल गठन गरेको थियो । लामा नेपाली कांग्रेस राप्ती नगर समितिका सभापति समेत हुन् ।