भूकम्प पीडितलाई एक्सपर्टद्वारा ५ लाख बराबरको राहत सामग्री वितरण
चितवन, २५ कात्तिक | एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितलाई राहत वितरण गरेको छ । एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशनमार्फत भूकम्पपीडितलाई ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो । एक्सपर्ट फाउन्डेसनले रूकुम (पश्चिम)को अति प्रभावित आठविषकोट नगरपालिका वडा नम्वर १३ र १४ मा ४६२ थान कम्वल वितरण गरेको हो । राहत सामग्री वितरणमा वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुन, नगरपालिकाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।
राहत सामग्री वितरण गरेकोमा फाउण्डेशनलाई नगर प्रमुख रवि केसी र निमित्त प्रमुख कार्यकारी अधिकृत ईन्द्रबहादुर विष्टले धन्यवाद ज्ञापन गरेका थिए । उनीहरुले विपद्को बेलामा एक्सपर्टले गरेको सहयोगको प्रशंसा गरेका थिए । एक्सपर्टले विभिन्न समयमा आइपर्ने विपद्मा सहयोग गर्दै आइरहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भूकम्पले सयौं परिवार घरबारविहीन बनेको अवस्थामा सानो सहयोग स्वरुप फाउण्डेशनमार्फत राहत सामग्री वितरण गरिएको बताए । देशमा आइपर्ने संकट समाधानका लागि सबैले सकेको हातेमालो गर्दै जानुपर्ने भन्दै भूकम्पपीडितलाई आवश्यक सहयोगमा जुट्न सबैमा आग्रह समेत गरे ।
राहत सामग्री लिएर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिजेस नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवाली रुकुम पश्चिम पुगेका थिए । उनले स्थानीय निकायलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए । सो क्रममा बोल्दै ज्ञवालीले मानविय सङ्कटमा सहयोग गर्नु सबैको कर्तव्य रहेको बताए । उनले राहत सामग्री प्रदान गर्ने फाउन्डेसनका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गरे । एक्सपर्ट एजुकेशन तथा भिजा सर्भिसेजको गैरनाफामुलक सामाजिक संस्था एक्सपर्ट फाउन्डेसनले विपद्को घडीमा समस्यामा परेका नागरिकहरूलाई विभिन्न सहयोगहरू गर्दै आएको छ ।
यस संथाले सन् २०१५ को भूकम्पले क्षतिग्रस्त विद्यालयको पुननिर्माण, बाढी पीडितलाई राहत वितरण, कोभिडमा अक्सिजन कन्सनटेटर, स्यानिटाईजर र माक्स वितरण, कोभिडको समयमा सडक नागरिकलाई भोजन प्रदान र रक्तदान जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ । एक्सपर्ट फाउन्डेसन अष्ट्रेलियामा पनि क्रियाशिल रहेको छ । यस सस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई कोभिडमा राहत कुपन वितरण गरेको थियो ।