विश्वकप क्रिकेटमा भोलिबाट सेमिफाइनलका खेल
काठमाडौं । आइसीसी एक दिवसीय विश्वकपमा भोलिबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । कूल ४५ खेलपछि भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्याण्ड सेमिफाइलनमा पुगेका छन् । भारतमा जारी १३औं आईसीसी एक दिवसीय विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई देश यसअघि विश्वविजेता भइसकेका छन् भने दुई देश पहिलो पटक जितेर रेकर्ड राख्ने दौडमा छन् ।
छनोट भएकामध्ये सबैभन्दा धेरै विश्वकप अष्ट्रेलियाले जितेको छ । भारतले पनि विश्वकप जितेको छ । दक्षिण अफ्रिका र न्यूजिल्याण्डले भने हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्। उनीहरु यो तथ्यलाई उल्टाउदै भारतबाट उपाधि जितेर जाने लक्ष्य र रणनीतिसहित मैदानमा उत्रिँदैछन् । आइसीसीको रेकर्ड अनुसार अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा गरी पाँच पटक एक दिवसीय विश्वकपको उपाधि जितेको छ ।
भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको छ । भारतले समूह चरणमा शतप्रतिशत खेल जितेर सेमिफाइनलमा पुगेको छ । विश्वकमा न्युजिल्याण्डले पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि एक दिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन । न्यूजिल्याण्डको ब्याटिङ र बलिङ दुवै सन्तुलित छ। यही कारण उसलाई इतिहास बनाउने मौका छ ।
लिग चरणमा उत्कृष्ट सुरुवात गरेको न्यूजिल्याण्ड बीचका केही खेलहरुमा कमजोर देखिएको थियो । तर उसले फेरि पुनरागमन गर्दै सेमिफाइलनको यात्रा तय गर्यो। दुई पटक फाइनल र ६ पटक सेमिफाइनलमा पुगेर पनि न्यूजिल्यान्डले विश्वकपको उपाधि जित्न सकेको छैन । न्यूजिल्याण्ड सन् २०१५ र सन् २०१९ को विश्वकपमा फाइनलमा पुगेर उप–विजेतामा चित्त बुझाएको थियो । दक्षिण अफ्रिका सन् १९९२ देखि एक दिवसीय विश्वकप खेल्न थालेको हो ।
दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेको इतिहास छैन । दक्षिण अफ्रिका हालसम्म चार पटक सेमिफाइनलमा पुग्ने अनि बाहिरिने हुँदै आएको छ । सन् १९९२ मा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको दक्षिण अफ्रिकाले त्यसपछि सन् १९९९, सन् २००७ र सन् २०१५ मा सेमिफाइनल खेलेको थियो । अब सेमिफाइलनमा भारत र न्यूजिल्याण्ड खेल्ने छन् भने दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्ने छन् जसबाट विजेता हुनेहरुले फाइलन खेल खेल्ने छन्। सेमिफाइलन १५ र १६ तारिखमा वानखेडे र इडनगार्डेन्समा हुने छ ।