अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाकाे तयारीमा छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । बिहीबार काठमाडाैँ रेस्पोन्सिबल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए । अर्थतन्त्रबारे जनतामा आशाको सञ्चार गर्न मिहिनेत गनुपर्ने अवस्था रहेको बताएका हुन् ।
“तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर व्यवहारमा आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति छ । त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा समेत यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारी बोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।” सरकार यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।