दोहोरो अंकमा बढ्यो नेप्से, असोज ४ यताकै उच्च कारोबार
काठमाडौं । निरन्तर ओलालो झरिरहेको नेप्से दुई दिन यता भने सामान्य रुपमा भएपनि बृद्धि भएको छ । आज बिहिबार पनि नेप्सेको वृद्धिले निरन्तरता पाएको छ ।बुधबार जम्मा ३ अंकले बढेको बजार बिहीबार भने ११.७३ अंकले बढेको छ । अघिल्लो दिन १ अर्ब १४ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको उच्च कारोबारले समग्र कारोबार रकम बढ्न गएको हो । बिहीबारको कारोबार असोज ४ गते यताकै उच्च हो ।
कुल १७५ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो । केही दिनअघिसम्म जीवन बीमा समूहमा देखिएको लगानीकर्ताको आकर्षण बिहीबार भने निर्जीवन बीमामा सरेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.१ प्रतिशत बढ्यो । जलविद्युत् समूह १ प्रतिशत बढ्यो । बैंकिङ ६.९, विकास बैंक २०, फाइनान्स ११, होटल तथा पर्यटन ३२, जलविद्युत् २०, जीवन बीमा ८, उत्पादन ३१, माइक्रोफाइनान्स २, निर्जीवन बीमा २०९ र अन्य समूह १ अंक बढे । व्यापार समूह भने १३ अंक घटेको छ ।