खैरहनीमा क्यु आरबाट कर तिर्ने व्यवस्थाको सुरुवात
प्रकाशित मिति: बुधबार, पौष ०४, २०८० | १७:१५:४०
खैरहनी | खैरहनी नगरपालिका चितवनले ‘क्यूआर कोड (स्क्यान) गरी नगरपालिकामा तिर्नु पर्ने कर तिर्न सकिने व्यवस्था बुधबार देखि लागू गरेको छ । अब खैरहनी नगरबासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवान तत्काल क्युआर कोड मार्फत तिर्न सक्नेछन् । डाईनामिक क्यूआर कोडको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीले डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेर तुरुन्तै कर तिरेको रसिद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाले बताएका छन् ।
सेवाग्राहीको सहजताको लागि कर तिर्न विद्युतीय भुक्तानी सेवाको विस्तार गर्ने चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुरुमा इसेवा बाट सुरुवात गरिएको भुक्तानी प्रणालीलाई निरन्तर सुधार गरी हाल इ-सेवा संगै खल्ती, कनेक्ट आइपियस र डायनामिक क्युआर कोड मार्फत भुक्तानीको व्यवस्था गरिएको नगर प्रमुख खनियाले उल्लेख गरेका छन् । नगर उपप्रमुख कविता उप्रतीले नगरपालिकाको सेवालाई विद्युतीय शासन मैत्री बनाउँदै नागरिकहरुले नगरपालिकाको सेवा घर घरबाटै प्राप्त गर्न सक्ने गरी सूचना प्रविधिको उपयोगमा नगरपालिकाले कार्यसम्पादन गरिरहेको बाताएका छन् ।
नगरपालिकाले यस अघि नै राजस्व रकम अनलाइन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू गरेको थियो । सोही प्रणालीलाई थप समायानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी क्यूआर स्क्यान सुविधा ल्याएको जनाइएको छ । नगरपालिकाले प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकासका लागि तालिमको सञ्चालन गरेको छ भने स्थानीय कलेजहरुसंगको सहकार्यमा नगरबासीलाई विद्युतीय भुक्तानी प्रणालीको बारेमा अभ्यस्त गराउने कार्यक्रम रहेको नगरपालिकालले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पौष ०४, २०८० |
१७:१५:४०
4863