नारायणगढ–मुग्लिन सडक आजदेखि चार घण्टा बन्द हुने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म १०ः४० बजेदेखि रोकिने छन् भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेदेखि रोकिने छन् । काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म १०ः५५ बजेदेखि र मालवाहक सवारी सधान लेवाटारमा बिहान १०ः४५ बजेदेखि रोकिने उनले जानकारी दिए ।
यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको आचार्यले बताए। आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ ।
बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काट्ने तयारी गरिएको छ । राजधानी काठमाण्डौँबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले चार घण्टासम्म रोकिएका सवारी कटाउँदा लामो समय ट्राफिक जाम हुन सक्ने भन्दै सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको हो ।